अनि, हामी दुईजना यो शिलालेख हेर्न जाने तयारीमा थियौँ । यत्तिकैमा बाहिरियालाई यो शिलालेख अहिलेका लागि नदेखाउने भएको छ भनी त्यहाँका प्रबन्धकहरूले निर्णय गरेका छन् भनेर खबर आएकाले मन मोसेर बसिरहेको थिएँ ।
‘गोरखापत्र’मा जुन दिन खबर छापियो, त्यही दिन दिउँसो जुनु र म चाबहिल गयौँ । चाबहि अर्थात् थथुबहिभित्र भेट्टाइएको यो शिलालेख बाहिर पेटीमा राखिएको रहेछ । त्यहाँको वज्रपाणिलोकेश्वर संरक्षण समितिका उपाध्यक्ष परमानन्द शाक्य (वि.सं. २०२२ मा जन्म)ले चाँजोपाँजो मिलाइदिएपछि म ढुंगैबाट अभिलेख पढ्न थालेँ र फोटो खिच्ने काम जुनुबाट भयो । दुई घन्टा जतिभित्र हरेक पंक्तिबाट अलिअलि अंश पढ्ने काम गरियो ।
नयाँ पाइएको खण्डको फोटो थरीथरी ढंगले परमानन्द शाक्यले खिच्नुभएको रहेछ र ती फोटा उहाँले इमेलद्वारा मकहाँ पठाइदिनुभयो । त्यसपछि कम्प्युटरमा बसेर र यसको प्रिन्टआउट गरेर म पढ्न थालेँ । दुई टुक्रा भएको यस शिलालेखका दुवै खण्ड जोड्दा पनि कहीँकहीँ दुई अक्षरदेखि आधा अक्षरसम्म नष्ट भइसकेको थाहा भयो । अझ, पहिलोपल्ट पहिलो खण्डको पाठ छापिँदा दायाँपट्टि सबभन्दा छेउमा रहेका एकाध अक्षर अहिले साबुत नभएका देखिन आए । पछिल्लो पंक्तिमा दायाँपट्टि अन्त्यमा डेढ दर्जन जति अक्षर शिरो भाग अलिकति मात्र देखिने गरी फुटिसकेको स्पष्ट भयो ।
चाबहिलको यस शिलालेखको पहिलो खण्ड पाइएदेखिको एकसरो वृत्तान्त र अहिले पाइएको खण्डको वृत्तान्त पनि रोचक ढंगले काशीनाथ तमोट (वि.सं. २००१ मा जन्म)ले लेखेको कुरा यही माघ २ गते अनलाइनमा पोस्ट गरियो (‘चाबहीया महामुनि मूर्तिलेख प्राप्तिया वृत्तान्त’, ई.सं. २०१९ जनवरी १६ तारिक, https://medium.com/nepalmandal_ । त्यहाँ दुवै खण्डका अलगअलग फोटो र दुवै खण्ड जोडेर पनि यस शिलालेखको फोटो दिइएको छ । चाबहिलको शिलालेखको पहिले भेट्टिएको खण्डमा देवताको नाउँ ‘महामुनि’ लेखिएको र अहिले भेट्टिएको खण्डमा ‘विग्रहं शैलं’ अर्थात् ‘शिलामूर्ति’ (नयनाथ पौडेलले पढेको पाठ) लेखिएकाले महामुनिको शिलामूर्ति स्थापना गरिएको भन्ने प्रमाणित भयो, शिलालेखको यो खण्ड पाइनाले यस शिलालेखको समयको विषयमा पहिले अनुमान गरिएका केही कुरा गलत ठहरिए र केहीचाहिँ ठीक ठहरिए भनी तिनका उदाहरण पनि त्यस लेखमा दिइएका छन् । ‘लाय्कू’ पाक्षिक पत्रिकाको यही २९ माघको अंक (५, १० पृ.)मा पनि त्यही लेख केही फरक पारी नेपाली भाषामा उल्थासहित छापिएको छ ।
केही दिनको परिश्रमबाट यस शिलालेखको पाठ पूरा गरे पनि कहीँकहीँ अक्षर त्यति स्पष्ट नभएकाले केही ठाउँमा अर्थसंगति अझै मिलाउन सकिरहेको थिइनँ । यसैबीचमा योगेश राज (वि.सं. २०२६ मा जन्म)सँग यस शिलालेखका विषयमा प्रसंगवश कुरा हुँदा आफूले पढेको पाठमा कहीँकहीँ अर्थ नखुलेकाले सुधार गर्नुपर्ने ठाउँ अझ छ भनी मैले उनलाई भनेँ । उसो भए म पनि पाठतिर दृष्टि दिऊँ कि भनी उनले भन्दा यस शिलालेखको प्रतिच्छवि र मैले पढेको पाठ उनलाई दिएँ । म अड्केका ठाउँमध्ये उनको प्रयासबाट कहीँकहीँ पाठ सच्चिएकाले उनलाई धन्यवाद छ ।
यस शिलालेखको दुवै खण्ड जोडिएकाले यसको मूलपाठ, उल्था, व्याख्या र लिपिका विषयमा एउटा लामै प्रबन्ध म लेखिरहेको छु । त्यो तयार भएपछि ‘पूर्णिमा’ वा अरू कुनै शोध पत्रिकामा यथासमय प्रकाशित हुने नै छ । मैले यस शिलालेखमा हात हालेकाले यस विषयमा मोटामोटी कुरा प्रकाश गरिहाल्ने आग्रह केही जिज्ञासुहरूबाट भएकाले यस लेखको जन्म भएको हो । पहिले पाइएको खण्डमा अनुष्टुप् छन्दका ६ श्लोक र अहिले पाइएको खण्डमा त्यही नै छन्दका ६ श्लोक छन् । आयाताकार लामो ढुंगामा आधा श्लोक कुँदेपछि अर्को श्लोकार्ध थाल्नुभन्दा अगाडि केही ठाउँ छोडी एक पंक्तिमा दुई श्लोक अट्टाउने गरी यो शिलालेख कुँदिएको रहेछ । छैटौँ पंक्तिमा बाह्रौँ श्लोक टुंगिएपछि दुईवटा दण्ड दिई त्यही पंक्तिमा गद्यमा संवत् दिई अरू थोक गद्यमै लेख्न थालिएको छ । सातौँ पंक्तिमा बायाँपट्टि निकै ठाउँ छोडी बीचबाट पूरा तिथिमिति दिई राजाको पदवीसहित लेखिएको छ र त्यहाँनिर अक्षर फुटेको छ ।
यस शिलालेखमा ‘बुद्ध’लाई बुझाउन ‘महर्षि’ (२ श्लोकको ४ पाउ, १० श्लोकको ४ पाउ), ‘भवविच्छिद्’ (५ श्लोकको २ पाउ), ‘महामुनि’ (९ श्लोकको २ पाउ) र ‘विग्रहच्छिद्’ (१० श्लोकको ४ पाउ) शब्दको प्रयोग भएको छ । त्यसै गरी,‘बुद्ध हुनु’भन्नुपर्दा‘बुद्धत्व’ (१२ श्लोकको ३ पाउ) र ‘बुद्धसम्बन्धी’ भन्नुपर्दा ‘सौगत’ (६ श्लोकको ४ पाउ) शब्द लेखिएको छ । गौतम बुद्धलाई ‘महर्षि’ शब्दले बुझाएको झट्ट हेर्दा अनौठो लागे पनि त्यस शब्दको प्रयोग अन्त्य पनि नभेट्टिने होइन (उदाहरणका लागि, अश्वघोषका ‘सौन्दरनन्द’ ४।३०, ५।३४ र ‘बुद्धचरित’ १३।१) ।
‘महामुनि’ शब्दको प्रयोग खास गरी गौतम बुद्धको विशेषणका रूपमा हुने भए पनि ‘शाक्यमुनि’को प्रयोग संज्ञाको रूपमा भएजस्तै चाबहिलको अभिलेखमा ‘महामुनि’ शब्द संज्ञाको रूपमा आउनु धेरै सम्भव छ, भरखरै प्रतिष्ठापित मूर्ति चिनाउन खास नाउको प्रयोग गरिने हुनाले यहाँ ‘महामुनि’ शब्दको प्रयोग संज्ञाकै रूपमा भएको हुनुपर्छ, यसैले ‘महामुनि’कै रूपमा चाबहिलमा प्रतिष्ठापित मूर्तिको पूजा गरिन्थ्यो, ‘महावस्तु’को दोस्रो ‘बहुबुद्धसूत्र’मा ‘महामुनि’लाई बुद्धमध्ये एक भनी मानिएको छ र ‘महावस्तु’कै ‘दशभूमिकखण्ड’को छन्दोबद्ध भागमा ‘शाक्यमुनि’ शब्द एकपल्ट मात्र आएको र ‘महामुनि’ शब्द भने १५ पल्ट आएको छ भनी दिवाकर आचार्य (वि.सं. २०२६ मा जन्म)ले लेखेका छन्
(‘जर्नल् अफ दि इन्टर्न्यास्अन्अल् असोसिएसन् अफ बुड्इस्ट् स्टड्इज्’ ३१ ठेली १–२ अंक, ई.सं. २००८, २६–२७ पृ.) । तर, यस शिलालेखको अहिले पाइएको खण्डमा बुद्धलाई बुझाउन ‘महर्षि’ शब्दको पनि २ पल्ट प्रयोग भएकोले यस विषयमा फेरि विचार गर्नुपर्छ जस्तो मलाई लाग्छ । ‘मञ्जुश्रीनामसंगीति’ (सुविशुद्धधर्मधातुज्ञान १)मा ‘महावैरोचन’, ‘बुद्ध’ र ‘महामौनी’ शब्दपछि ‘महामुनि’ शब्द आएको कुरा पनि यस प्रसंगमा भन्नुपर्छ । ब्रह्मा अर्थात् म्यानमारको माण्डले सहरभन्दा दक्षिणपश्चिममा रहेको महामुनि नाउँको बौद्ध मन्दिरमा बुद्धको कुन रूपको मूर्ति छ भन्ने विषयमा बुझ्नु पनि यस सन्दर्भमा उपयुक्त होला ।
यस खण्डित शिलालेखको दोस्रो खण्ड नपाइँदै त्यसका केही अक्षर पहिलो खण्डसँगै देखिएको आधारमा अपूरो भाग पूरा गर्ने प्रयत्न दिवाकरले कहीँकहीँ गरेका छन् र उनको यो प्रयास कतैकतै सफल पनि छ । जस्तै, पहिलो श्लोक सिद्धिएपछि ‘दानशील’ पहिलो खण्डसँगै देखिएकोमा ‘क्षमावीर्यध्यानप्रज्ञानिषेवणात्’ कोष्ठमा थपी त्यो श्लोकार्ध उनले पूरा गरेका छन् (‘जर्नल् अफ दि इन्टर्न्यास्अन्अल् असोसिएसन् अफ बुड्इस्ट् स्टड्इज्’ ३१ ठेली, २९ पृ.) । अहिले पाइएको खण्डमा त्यस श्लोकार्धका पाँचौँ र छैटौँ अक्षर नदेखिए पनि सातौँ अक्षर ‘ध्य’ देखिई त्यसपछिको एउटा अक्षर नदेखिई अनि ‘व’ मात्र देखिई त्यसको ईकार नदेखिएको र त्यसपछि ‘य्र्यप्रज्ञा’ देखिँदा अब यसको पाठ पारमिताहरूका नाउँसम्म ‘दानशील(क्षमा) ध्यानवीय्र्यप्रज्ञा’ भएकाले उनले कोष्ठमा पढेको पाठ धेरै अंशमा सत्य ठहर्छ, खालि उनले शास्त्रीय क्रमअनुसार कोष्ठमा पढेको पाठमा ‘वीर्यध्यान’ भएकोमा वास्तव पाठ‘ध्यानवीय्र्य’ छ ।
पहिले पाइएको खण्डमा नभएको अंश भर्दै जाने प्रसंगमा दिवाकरले दोस्रो श्लोकका तेस्रो र चौथो पाउ नभरे पनि चौथो पाउ ‘प्राप्तं ज्ञानमनुत्तमम्’ हुन सक्ने कुरा तेस्रो श्लोक ‘सम्प्राप्यानुत्तमं ज्ञानं’बाट सुरु भएकाले अनुमान गरेका छन् (उही, ३० पृ.) । तर, त्यो श्लोकार्ध ‘षड्भिः सम्परिपूण्र्णाभिः पारमिद्भिम्र्महर्षिणा’ भन्ने भएकाले अब अनुमानको जरुरत भएन ।
चाबहिलको यस शिलालेखमा ‘पारमिता’को ठाउँमा ‘पारमित्’ लेखिएकामा अब केही टिप्पणी गर्नुपरेको छ । ‘जातकाकीण्र्णङ्नाना’ (५ श्लोकका ३–४ पाउ), ‘प्रेम्ना’ (६ श्लोकको २ पाउ, यही रूप मानदेवको चाँगुको शिलास्तम्भलेखको ८ श्लोकको १ पाउमा पनि आएको छ), ‘कारितं विग्रहं शैलम्’ (१० श्लोकको ३ पाउ) ‘विराग्य’ (११ श्लोकको ३ पाउ) जस्ता अपाणिनीय रूपको प्रयोग यस शिलालेखमा भएकोले ‘वाच्’, ‘निश्’, ‘दिश्’, ‘प्रतिपद्’, ‘समिध्’ र ‘सम्पद्’ को पर्यायमा क्रमशः ‘वाचा’, ‘निशा’, दिशा’, ‘प्रतिपदा’, ‘समिधा’ र ‘सम्पदा’शब्द लोकमा चलेको देखेर शब्द रचनाको प्रक्रिया नबुझी खालि रूप मात्र हेरी ‘पारमिता’को पर्यायमा ‘पारमित्’ लेख्ने आँट यी पद्य रच्नेले छन्दोऽनुरोधले गरेको हो कि जस्तो मलाई लाग्छ ।
‘धेरै कालसम्म परिश्रम गरेर किन्नरीजातकका थरीथरीका चित्र भएको भवविच्छित्को भवन’ (५ श्लोक) भनी पहिले नै प्रकाशमा आएको खण्डबाट बुझिएको हो । ‘अभिलेख–संग्रह’लगायत जहाँ जहाँ यो शिलालेख छापियो, त्यहाँ त्यहाँ त्यस श्लोकपछिको पहिलो अक्षर ‘श्री’ पढिएको थियो । तर त्यहाँ ‘श्री’ अक्षर देखिनँ भनी दिवाकरले लेखेका छन् (उही, ३१ पृ.) । पूरै अक्षर त्यहाँ नदेखिए पनि अक्षरको बायाँपट्टिको अलिकति भाग तल लगाइएको ‘र’समेत अहिले पनि देखिँदै छ । ‘श्री’ पढिएको त्यस अक्षरको ईकारबाहेकको भाग देखिँदा खालि ‘श्र’को अर्थको कल्पना गर्न नसकिएकाले त्यसलाई ‘श्री’ पढिएको थियो कि जस्तो मलाई अहिले लाग्छ । अहिले पाइएको खण्डमा ‘द्धया भक्तितश्चैव नित्यम्प्रेम्ना च गौरवात्’ स्पष्ट देखिएकोले समग्र पाठ ‘श्रद्धया भक्तितश्चैव नित्यम्प्रेम्ना च गौरवात्’ (६ श्लोकका १–२ पाउ) हुन्छ भनी भनिरहनु नपर्ला ।
‘बर्सेनि ४५ मानिका धान आयस्ता हुने खेत दिइयो’ (७ श्लोक) भनी पहिलो खण्डबाट बुझिएकोमा ‘चन्दन, माला, तेल र धुपका लागि तथा बढारकुढार र लिपपोत गर्नका लागि’ (गन्धपुष्पोपहारात्र्थन्तैलधूपात्र्थमेव च सम्मार्जनोपलेपात्र्थं सदा ज्ञेयं मुमुक्षुभिः) (८ श्लोक)त्यो खेत दिइएको कुरा अहिले पाइएको खण्डबाट स्पष्ट हुन्छ । संघको भोजनका लागि र महामुनिको पूजाका लागि दात्रीले २८ मानिका आयस्ता हुने खेत दिएको कुरा (९ श्लोक) पहिलो खण्डबाट बुझिएकाले ‘धान्यस्य वर्षे वर्षेथ जायन्ते’ भन्ने पद सातौँ श्लोकमा भए जस्तै दशौँ श्लोकमा पनि यस्तै भाव हुनुपर्छ भनी दिवाकरले लेखेका छन् (उही, ३१ पृ.) । ‘मातापित्रोर्हितात्र्थाय जगतोत्र्थाय सव्र्वदा कारितं विग्रहं शैलम्महर्षेव्र्विग्रहच्छिदः’ अर्थात् ‘बाबुआमाको र संसारको सधैँ हितका लागि विग्रहच्छिद्को शिलाको मूर्ति बनाइयो’ भन्ने श्लोक अहिले भेट्टाइएको खण्डमा भएकाले अब अडकल गर्नुपर्ने भएन ।
‘विचित्रको दानधर्म यहाँ गरेर मलाई जुन शुभ भएको छ, स्त्रीत्व छोडी पुरुषत्व पाएर’ (११ श्लोक) भनी पहिलो खण्डमा लेखिएकोले पूरा वाक्य नआएको स्पष्ट छ । त्यसपछि त्यही खण्डमा ‘शोककाममया’ मात्र देखिएको थियो । त्यसपछिको पहिलो अक्षर अरूले नपढे पनि दिवाकरले ‘त्प’ पढी ‘अष्टसाहस्रिका’मा बोधिसŒवहरूलाई ‘उत्तीर्णपङ्काः’ भनिएकाले त्यहाँसम्म ‘शोककाममयात्पङ्कात्’ हुनुपर्छ भन्ने उनको जिकिर छ (उही, ३१ पृ.) । त्यस श्लोकमा ‘शोककाममया’पछि ४ अक्षर पढ्न सकिँदैनन् र त्यसपछि ‘दुःखमहाण्र्णवात् बुद्धत्वम्प्राप्यते नाहन्तारयेयम्प्रजामिमाम्’(शोक र कामवासनाबाट बनेको दुःखको महासागरबाट बुद्धत्व पाइँदैन, यी प्रजालाइम कसरी तारुँला)(१२ श्लोक) अहिले पाइएको खण्डमा भएकाले दिवाकरले गरेको पदपूर्तिको पुष्टि भएको छ ।
पहिलो खण्डबाट बार्हस्पत्यसंवत्सर, महिना, पक्ष, तिथि र राजाको पदवी थाहा पाइएकामा अहिले पाइएको खण्डबाट संवत्को अंक बार्हस्पत्य संवत्सरको अगाडि महिनाको नाउँमा अक्सर अगाडि जोडिने ‘महा’ र राजाको नाउको उत्तरपद अर्थात् ‘देव’ स्पष्ट भएको छ । यहाँको (शक)संवत् ४२१ भएको र मानदेवले (शक)संवत् ४२८ सम्म राज्य गरिरहेको अरू तात्कालिक शिलालेखबाट थाहा भएकाले चाबहिलको यस शिलालेखमा राजाको नाउ फुटी नाउमा जोडिने ‘देव’ मात्र बाँकी रहन गए पनि यी राजा मानदेव नै हुन् भनी ठोकेर भन्न नसकिने होइन ।
बाह्र वर्षे बार्हस्पत्य संवत्सरमा वर्ष लेख्दा महिनाको नाउअगाडि ‘महा’ जोड्ने नियम भए पनि ईसवी संवत्को पाँचौँशताब्दीको मध्यतिरका कदम्बवंशका २ अभिलेखमा महिनाको अगाडि ‘महा’ नजोडिएको र चाबहिलको अभिलेखमा पनि महिनाको अगाडि ‘महा’ नजोडिएकाले यसको लेखाइ कदम्बवंशको नजिक छ भनी दिवाकरले लेखेको (उही, २८ पृ.) शिलालेखको यो खण्ड नभेट्टिएसम्म यो अनुमान ठीकै जँच्दथ्यो । तर, अहिले भेट्टाइएको खण्डमा छैटौँ पंक्तिको पुछारमा ‘महा’ देखिएकाले सातौँ पंक्तिको सुरुमा आएको ‘माघवर्षे’सँग त्यसको मिलान हुन्छ भनी भनिरहनुपर्दैन ।
उन्नाइसौँ शताब्दीमा रचिएका वंशावलीको आधारमा धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१)ले चाबहिलमा पाइएको यस शिलालेखलाई त्यहीँकै प्रसिद्ध चैत्यसँग जोडेर यसको पहिले पाइएको खण्डमा आएको ‘भवनम्’ (५ श्लोकको २ पाउ)को अर्थ ‘चैत्य’ (‘लिच्छविकालका अभिलेख’, २ पृ.) भनी गरे पनि ‘विग्रहच्छिद् महर्षिको शिलाको मूर्ति बनाइयो’
(१० श्लोकका १–२ पाउ) भनी अहिले पाइएको खण्डमा लेखिएकाले शिलाको बुद्धमूर्ति बनाइएको कुरा स्पष्ट हुँदा चाबहिलको चैत्यसँग यस शिलालेखको कत्ति पनि सम्बन्ध छैन भनी निर्धक्क भन्न सकिन्छ । बरु, त्यतातिर पाइने बुद्धको कुनचाहिँ मूर्ति त्यस वेला बनाइएको हो भन्नेततर्फ खोजी गर्नु जरुरी छ ।धनवज्रको नाउँ नलिए पनि उनको अर्थगराइको प्रभावमा परी डिल्लीरमण रेग्मी (वि.सं. १९७०–२०५८)ले यस शिलालेखको पहिलो खण्डमा आएको ‘भवनं’ को अर्थ ‘अ स्ट्रक्चर्’ मात्र नगरी त्यसको व्याख्यामा ‘अब्भिअस्लि अ स्तूप अफ इम्यान्सिपेटर् (‘इन्स्क्रिप्सन्ज् अप्m एन्सेन्ट् नेपाल्’ २ ठेली, ८ पृ.) अर्थात् ‘स्पष्टतः मुक्तिदाताको स्तूप’ भनी लेखेको कुराको सम्झना सहसा हुन्छ ।
बार्हस्पत्य संवत्सरमा मिति दिइएको अभिलेख विशाल भारतमा पनि मलाई थाहा भएसम्म धेरै नै थोरै मात्र पाइएका छन् । बार्हस्पत्य संवत्सर र अर्को कुनै संवत् दुवैमा मिति दिइएको एक थरी, बार्हस्पत्य संवत्सर र कुनै राजाको राज्य वर्षमा मिति दिइएको अर्को थरी र खालि बार्हस्पत्य संवत्सरमा मात्र मिति दिइएको झन् अर्को थरी गरी ती अभिलेखलाई ३ भागमा बाँड्न सकिन्छ ।
तीनमध्ये बार्हस्पत्य संवत्सर र अर्को कुनै संवत् दुवैमा मिति दिइएका ७ वटा अभिलेख छन्—
१) षट्पञ्चाशोत्तरेब्दशते गुप्तनृपराज्यभुक्तौ महावैशाखसंवत्सरे । कार्तिकमासशुक्लपक्षतृतीयायाम् = गुप्तसंवत् १५६ महावैशाखसंवत्सर कार्तिकशुक्लतृतीया (जोन फेथ्फुल फ्लीट, ‘इन्स्क्रिप्शन्ज् अफ दि अर्लि गुप्त किङ्ज् यान्ड् देर् सव्mसेश्अर्ज्’, सुपर्इन्टेन्डेन्ट अफ गभ्अर्न्मेन्ट प्रिन्ट्इङ, कलकत्ता, ई.सं. १८८८, २१ संख्या) ।
२) त्रिषष्ट्युत्तरेब्दशते गुप्तनृपराज्यभुक्तौ महाश्वयुजसंवत्सरे चैत्रमासशुक्लपक्षद्वितीयायाम् = गुप्तसंवत् १६३ महाश्वयुजसंवत्सर चैत्रशुक्लद्वितीया (उही, २२ संख्या) ।
३) संवत्सरशतेष्टषष्ट्युत्तरे महामाघसंवत्सरे श्रावण(पञ्च)म्यां = गुप्तसंवत् १६८ महामाघसंवत्सर श्रावणको ५ दिन
(पृथ्वीकुमार अग्रवाल, ‘इम्पिर्इअल् गुप्त एप्इग्य्राफ्ज्’, बुक्स एसिया, वाराणसी, ई.सं. १९८३, ५५ संख्या । पहिलोपटक यो अभिलेख छाप्ने बालचन्द्र जैनले यसको संवत् संवत्सरशते षट्षष्ट्युत्तरे = गुप्तसंवत् १६६ पढेका छन् (‘जर्नल् अप्m दि एप्इग्य्राप्mइक्ल् ससाइइटि अप्m इन्डिअ, मैसूर्’ ४ ठेली, ई.सं. १९७७, ६२–६६ पृ.मा छापिएको भनी पृथ्वीकुमारद्वारा उद्धृत) । परमेश्वरीलाल गुप्त, ‘प्राचीन भारत के प्रमुख अभिलेख’, ५ संस्करण, विश्वविद्यालय प्रकाशन, वाराणसी, ई.सं. २००८, १८५ पृ.मा रमेशले यस अभिलेखको संवत् संवत्सरशतेष्टषष्ट्युत्तरे पढेको चर्चा छ) ।
४) एकनवत्युत्तरेब्दशते गुप्तनृपराज्यभुक्तौ श्रीमति प्रवद्र्धमानमहाचैत्त्रसंवत्सरे माघमासबहुलपक्षतृतीयायाम् = गुप्तसंवत् १९१ महाचैत्रसंवत्सर माघकृष्णतृतीया (फ्लिट, २३ संख्या) ।
५) संवत्सरशते नवनवत्युत्तरे गुप्तनृपराज्यभुक्तौ महामाग्र्गशीर्षसंवत्सरे कात्र्तिकमासदशम्यां संवत्सर १९९ महामार्गवर्षे कात्र्तिकदि १० = गुप्तसंवत् १९९ महामार्गशीर्षसंवत्सर कार्तिकको १० दिन (हीरालाल, ‘बेतुल् प्लेट्स् अप्m संक्षोभ, ‘इपिग्राफिय इन्डिक’ ८ ठेली, ई.सं. १९०५–१९०६, २८४–२९० पृ.) ।
६) नवोत्तरेब्दशतद्वये गुप्तनृपराज्यभुक्तौ श्रीमति प्रवद्र्धमानविजयराज्ये महाश्वयुजसंवत्सरे चैत्रमासशुक्लपक्षत्रयोदश्याम् = गुप्तसंवत् २०९ महाश्वयुजसंवत्सर चैत्रशुक्लत्रयोदशी (फ्लिट, २५ संख्या) ।
७) आषाढसंवत्सरे चैत्रामावास्यायां = आषाढसंवत्सर चैते औँसी । संवत्सरशतत्रये द्वाविङ्शे कार्तिकशुदि ५ =
(चेदि)संवत् ३२२ कार्तिकशुक्लपञ्चमी । (वासुदेव विष्णु मिराशी, ‘इन्स्क्रिप्सन्ज् अफ द कलचुरि–चेदि ईर्अ’ २ भाग, गभ्अर्न्मेन्ट इपिग्य्राप्mइस्ट फर इन्डिअ, ऊतक्यामन्द, ई.सं. १९५५, १२० संख्या) ।
बार्हस्पत्य संवत्सर र कुनै राजाको राज्यवर्षमा मिति दिइएका ३ वटा अभिलेख छन्—
१) राज्यसंवत्सरे पञ्चदशे भाद्रपदे कात्र्तिकस्य बहुलपञ्चम्यां सं १५ कार्तिकब ५ = राज्यसंवत् १५ भाद्रपद(संवत्सर) कार्तिककृष्णपञ्चमी (वासुदेव विष्णु मिराशी, ‘द राष्ट्रकूटस् अप्m मानपुर’, ‘यान्अल्ज् अफ द भाण्डार्कर् अर्इअन्टल् रिसर्च् इन्स्टिट्युट्’ २५ ठेली, ई.सं. १९४४, ३६–५० पृ.) ।
२) आत्मनः राज्यस्य तृतीये वर्षे पौषे संवत्सरे कात्र्तिकमासबहुलपक्षे दशम्यां तिथौ उत्तराभद्रपदे नक्षत्रे = आफूले राज्य गर्न थालेको तेस्रो वर्ष पौषसंवत्सर कार्तिककृष्णदशमी उत्तरभद्रनक्षत्र (जोन फेथ्फुल फ्लीट, ‘स्यान्स्क्रिट् यान्ड् ओल्ड् कनारीज् इन्स्क्रिप्शन्ज्’, ‘दि इन्डिअन् यान्टिक्वेरि’ ७ ठेली, ई.सं. १८७८, ३५–३७ पृ.) ।
३) स्ववैजयिके अष्टमे वैशाखे संवत्सरे कात्र्तिकपौण्र्णमास्याम् = आफ्नो विजयराज्यको आठौँ वर्ष वैशाखसंवत्सर कार्तिकपूर्णिमा (जोन फेथ्फुल फ्लिट, ‘स्यान्स्क्रिट् यान्ड् ओल्ड् कनारिज् इन्स्क्रिप्सन्ज्’, ‘दि इन्डिअन् यान्टिक्वेरि’ ६ ठेली, ई.सं. १८७७, २४–२५ पृ.) ।
खालि बार्हस्पत्य संवत्सरमा मात्र मिति दिइएका अभिलेख पनि २ वटा मात्र छन्—
१) महामाघे संवत्सरे कात्र्तिकमासदिवस १९ = महामाघसंवत्सर कात्तिक महिनाको १९ दिन (जोन फेथ्फुल फ्लिट, ‘इन्स्क्रिप्सन्ज् अप्m दि अर्लि गुप्त किङ्ज् यान्ड् देर् सव्mसेस्अर्ज्’, २४ संख्या) ।
२) महाश्वयुजसंवत्सरे माघमासपौण्र्णमास्याम् = महाश्वयुजसंवत्सर माघपूर्णिमा (जिभी. श्रीनिवास राव, ‘सिरिपुरम् प्लेट्स् अप्m अनन्तवर्मन्, लर्ड् अप्m कलिङ्ग’, ‘इपिग्राफिय इन्डिक’ २४ ठेली, ई.सं. १९३७–१९३८, ४७–५२ पृ.) ।
बार्हस्पत्य संवत्सर र अर्को एउटा संवत्मा मिति दिइएको चाबहिलको शिलालेखमा त्यो अर्को संवत् शकसंवत् भनी मानिएकाले त्यो संवत् ४२१ असार महिनालाई वि.सं. मा परिवर्तित गर्दा ५५७ हुन जान्छ । भारतमा पाइएका बार्हस्पत्य संवत्सरको पहिलो अभिलेखमा गुप्तसंवत् १५६, दोस्रोमा १६३, तेस्रोमा १६८ र चौथोमा १९१ भएकोले तिनलाई वि.सं.मा बदल्दा क्रमशः ५३२, ५३९, ५४४ र ५६७ हुन जान्छ । यसैले अखिल भारतवर्षका अभिलेखलाई दृष्टिगत गर्दा चाबहिलको शिलालेख बार्हस्पत्य संवत्सरको प्रयोगको चौथो उदाहरण बन्न गएको छ ।
राजा जयवर्माको सालिकमा कुँदिएको अभिलेखलाई नगन्ने हो भने, राजा मानदेवको पालादेखि मात्र अनवरत रूपले अभिलेख पाइन्छन् । उनकै पालामा वैष्णव, शैव, सौर र शाक्त सम्प्रदायका मात्र अभिलेख अहिलेसम्म पाइएका थिए । बौद्ध धर्मसँग सम्बद्ध चाबहिलको यस शिलालेखको समय निश्चित नभइरहेको अवस्थामा यो शिलालेख (शक)संवत् ४२१ तदनुसार वि.सं. ५५७ को हो भन्ने कुरा यसको हालै पाइएको खण्डबाट थाहा भएकोले प्राचीन कालदेखि नै यहाँ बौद्ध धर्म चलेको कुरा प्रामाणिक ढंगले सिद्ध भएको छ ।
शंकरमान राजवंशी (वि.सं. १९८१–२०५६)ले ४० वर्ष जतिअगाडि र दिवाकर आचार्यले १० वर्ष जति अगाडि चाबहिलको शिलालेखमा पाइएको बार्हस्पत्य संवत्सरको गणना आआफ्ना ढंगले गरेको कामको बैठान अब यस शिलालेखको हालै भेट्टाइएको खण्डमा प्रचलित संवत् पनि भएकोले दुवै संवत्को मिलान गरी यसको गणना गर्नुपर्ने भएको छ ।
स्रोत:- वि.सं २०७८ कार्तिक ४ बिहीबार नया पत्रिकामा प्रकाशीत।
https://jhannaya.nayapatrikadaily.com/news-details/48/2019-03-16?fbclid=IwAR2Fc0uFiIDFWemPutJEMkg2TEOljFhL82bf0D9StGRLk8fTbmn8pcMUU84





